प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय समिति आजै बनाउने सहमति नजिक पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीबीच आइतबार बिहान बालुवाटारमा भएको छलफलमा आजै आयोग बनाउने सहमति जुटेको हो।
‘आजै नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमति नजिक पुगेका छौं,’ संवादमा रहेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सेतोपाटीसँग भने, ‘छलफलचाहिँ जारी नै छ।’
बालुवाटारको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन्। त्यस्तै कांग्रेसका तर्फबाट उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि छलफलमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।
संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएको थियो। सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो।


प्रधानमन्त्री प्रचण्डले आजै बालुवाटारमा सर्वदलीय बैठक पनि बोलाएका छन्।