Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

नेपाली डाक्टर पनि सहभागी भएर १५ लाख बढी मानिसमा गरिएको अनुसन्धानले के भन्छ मुटु रोगबारे

मुटुरोग विशेष गरेर हृदयघात, पक्षघातजन्य रोग विश्वमै मृत्युको प्रमुख कारक हो। झन्डै एक तिहाइ मानिसको मृत्युको कारक मुटु रोगलाई मान्ने गरिन्छ।

मुटु रोग लाग्नुका पछाडि केही खास जोखिम तत्वहरू हुन्छन्। ती तत्वहरूलाई रोक्न सके वा उचित व्यवस्थापन गर्न सके मुटु रोगबाट हुने मृत्यु र अंगभंगलाई रोक्न सकिन्छ।

नेपाललगायत ३४ वटा देशमा गरिएको एक अनुसन्धानले मुटु रोग लाग्नुका पछाडि मुख्य पाँच वटा जोखिम तत्वहरूलाई औंल्याएको छ।

उक्त अनुसन्धानको नतिजा चिकित्सा क्षेत्रमा संसारभरि नै सर्वोत्कृष्ट मानिने पत्रिका ‘द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ को सन् २०२३ अगष्ट महिनाको अंकमा छापिएको थियो। उक्त अनुसन्धान र नतिजा प्रकाशनमा लेखकमध्ये एक (सञ्जीवकुमार शर्मा) को समेत संलग्नता थियो।

जनमानसमा मुटुसम्बन्धी रोगप्रति सचेत गराउने उद्देश्यले हामीले यो अनुसन्धानका केही मुख्य नतिजालाई यहाँ प्रस्तुत गरेका छौं।

त्यसमाथि सारा संसारलाई प्रतिनिधित्व गर्ने खालको एक सय १२ वटा अनुसन्धान समूहले बनेको यो बृहत अनुसन्धानमा नेपालको पनि सहभागिता थियो।

आशा छ यो अनुसन्धानको नतिजाले पाठकहरूलाई आफ्ना चिकित्सकसँग सरसल्लाह गरेर यहाँ उल्लेखित परिवर्तनीय जोखिमलाई कम गर्न प्रोत्साहित गर्ने छ।

अनुसन्धानको क्रममा मुटु रोगलाई असर पार्ने पाँच वटा प्रमुख जोखिम तत्वहरूमा मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल, धुमपान र मधुमेह देखिएका थिए।

The web
The web

यी पाँच वटा तत्वहरू मुटु रोगमात्र नभएर अन्य कारणले हुने मृत्युमा पनि जिम्मेवार हुन्छन्। उदाहरणका लागि धुमपान मुटु रोगका लागिभन्दा मृत्युका लागि बढी जोखिम रहेको तर उच्च रक्तचाप र कोलेस्ट्रोल भने मुटु रोगका लागि बढी जोखिम रहेको पाइएको छ।

१५ लाख १८ हजारभन्दा बढी सहभागीहरूको तथ्यांक केलाइएको उक्त अनुसन्धानमा आठ वटा भौगोलिक क्षेत्रलाई समेटिएको छ। जसमा उत्तर अमेरिका, दक्षिण अमेरिका, पश्चिमी युरोप, पूर्वी युरोप, उत्तर अफ्रिका र मध्यपूर्व सब-साहरन अफ्रिका, एसिया र अष्ट्रेलिया छन्।

अध्ययनको प्रारम्भमै लिएका तथ्यांकअनुसार सहभागीमध्ये ५४.१ प्रतिशत महिला तथा ४५.९ प्रतिशत पुरूष थिए। ५० प्रतिशत सहभागीको उमेर ५४ वर्षभन्दा माथि थियो। यसैगरी सहभागीमा पहिल्यैदेखि विद्यमान मुटुको रोग र अन्य कुराको प्रचुरता पनि हेरिएको थियो। जसमा मुटु रोगको प्राचुर्य दर ६.५ प्रतिशत, धुमपान गर्नेको २१.६ प्रतिशत र ८.३ प्रतिशतमा भने मधुमेह थियो।

अन्य जोखिमहरूको तथ्यांक केलाउँदा ५० प्रतिशत सहभागीको रक्तचाप १३० भन्दा बढी पाइएको थियो। २५ प्रतिशत सहभागीको रक्तचाप ११८ भन्दा कम थियो भने १४४ भन्दा बढी रक्तचाप हुनेहरू २५ प्रतिशत थिए।

मोटोपनलाई प्राय: बिएमआई (बडी मास इन्डेक्स) नामक सूचांकले नापिन्छ। बिएमआई, उचाइ र तौलको आधारमा एउटा गणितीय सुत्रद्वारा गणना गरिन्छ। एसियालीहरूका हकमा बिएमआई १८.५ देखि २२.९ सम्म हुने व्यक्तिलाई स्वास्थको दृष्टिकोणले उपयुक्त वा ठिक्कको मोटाइ भएको मानिन्छ। १८.५ भन्दा कम भएमा बिएमआई कम भएको मानिन्छ। त्यस्तै २३ देखि २४.९ सम्मलाई अधिक मोटाइ भएको र ३० भन्दा माथिकोलाई अत्याधिक मोटोपनाको रूपमा लिइन्छ।

२४ देशमा गरिएको अनुसन्धानमा सहभागी भएकाहरूको बिएमआई हेर्दा ५० प्रतिशतमा २६.४ भन्दा बढी पाइएको थियो। त्यस्तै २५ प्रतिशतमा बिएमआई २३.७ भन्दा कम र २५ प्रतिशत सहभागीमा बिएमआई २९.७ भन्दा बढी थियो। कोलेस्टोरेलको हकमा भने क्रमश १५६.९, १२८.८ र १८७.९ मिलिग्राम प्रति डेसिलिटर थियो।

मुटु रोग लागेकामध्ये ५० प्रतिशत सहभागीबाट ७ वर्षसम्मको तथ्यांक उपलब्ध भएको थियो। त्यसैगरी २५ प्रतिशतको ६ वर्षभन्दा कमको र २५ प्रतिशत सहभागीको १२ वर्षभन्दा लामो समयको तथ्याङ्क उपलब्ध भएको थियो। अध्ययन अवधिमा जम्मा ८० हजार ५९६ सहभागीमा मुटु रोग देखिएको थियो। जसमा ३० हजार ३३ जना महिला र ५० हजार ५६३ जना पुरूष थिए।

अनुसन्धानको क्रममा दस वर्षको अवधिमा ४ प्रतिशत महिला र ७ प्रतिशत पुरूषमा नयाँ मुटु रोग देखा परेको पाइएको थियो। र महिलामा देखिएको यो रोगको घटनामध्ये ५७.२ प्रतिशतमा माथि उल्लेखित पाँच कारक तत्व जिम्मेवार रहेको देखिएको थियो।

पुरूषको हकमा भने यो दर ५२.६ प्रतिशत थियो। यो अध्ययनले यी पाँच जोखिमको प्राचुर्य र अध्ययन अवधिमा देखा परेका मुटुको रोगका घटनाको दर भौगोलिक क्षेत्रअनुसार फरक-फरक देखिए पनि सबै ठाउँमा यो दर पुरूषको अनुपातमा महिलामा कम देखिएको थियो।

मुटुको रोगको लागि जिम्मेवार यी पाँच वटा परिवर्तनीय कारकमध्ये मुख्य तत्व रक्तचाप पाइएको छ। १२० भन्दा कम रक्तचापलाई स्वास्थ्यको लागि उपयुक्त मानिन्छ। यसरी अध्ययन गरिएका जोखिमबाहेक अन्य चिज जस्तै शारिरीक रूपले निष्क्रिय जीवन शैली, मद्यपान, मानसिक तनाव आदिले पनि मुटु रोगको लागि जोखिम बढाउने काम गर्छ।

यद्यपि माथि चर्चा गरिएका पाँच वटै तत्वहरूलाई हामी आफ्नो आनीबानीमार्फत् सन्तुलनमा राख्न सक्छौं। जस्तो कि परापूर्वकालदेखि नै चलन चल्तीमा भन्दै आइराखेका ‘घाम, पानी, परिश्रम, आहार, विहार र विचार’ जस्ता रोगका मुख्य कारकहरूलाई सही व्यवस्थापन गर्न सके मुटु रोगसहित दीर्घ रोगहरूलाई रोक्न सकिन्छ।

यस सन्दर्भमा धरानस्थित केएचडिसी नेपालद्वारा सञ्चालित अभियानको नारा ‘एक कदम अगाडि, रोग सारौं पछाडि’ र ‘एक घन्टे जागिर अर्थात् दैनिक एक घन्टा हिँडौं’ भन्ने नारालाई अवलम्बन गर्न सकिन्छ।

‘केएचडिसी नेपाल अभियान’ मुटु रोग, मिर्गौला रोग, मधुमेह तथा उच्च रक्तचाप पहिचान, रोकथाम तथा उपचारमा संलग्न जनसमुदायमुखी अभियान हो। जनसमुदायमा स्वस्थ्य जीवन शैली अपनाउन यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेमाथि उल्लेखित जोखिम तत्व रोकथामका निमित्त टेवा पुग्ने देखिन्छ।

साथै जोखिम समूहमा रहेका व्यक्तिमा जोखिम तत्व बेलैमा पहिचान गरी चिकित्सकीय परामर्शअनुसार उपचार गरेमा यस्ता दीर्घ रोगबाट हुन सक्ने हानी एवं मृत्युलाई समेत धेरै हदसम्म कम गर्न मद्दत पुग्छ।

(प्रा. डा. सञ्जीवकुमार शर्मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रेक्टर तथा वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ हुन्। प्रा. डा. शिव गौतम उक्त प्रतिष्ठानमा फुलब्राइट स्कलर तथा युनिभर्सिटी अफ् फ्लोरिडाका प्राध्यापक हुन्।)