Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

किन घटिरहेको खसी-बोकाको ज्यानमा मासु?

सन् २०१८ मा नेपालमा खसी, बोकाको मासु २०.४ प्रतिशत खपत हुने गरेको थियो। सबैभन्दा बढी मासु भैंसीको (५३.४ प्रतिशत) र तेस्रोमा कुकुराको मासु (१७.३ प्रतिशत) खपत हुन्थ्यो।

सन् २०२२ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निकालेको तथ्यांकमा खसी/बोका मासुको खपत १४.५ प्रतिशतमा झरेको छ। कुखुराको मासुको खपत बढेर ४० प्रतिशत पुगेको छ। भैंसीको मासु ३५.९ प्रतिशत खपत भएको देखिएको छ।  

चार वर्षको अवधिमा खसी, बोकाको मासुको उत्पादन करिब १ किलोले घटेको कृषि तथा पशुपंक्षी मन्त्रालयको योजना तथा विकास साझेदारी समन्वय ईकाईले निकालेको तथ्यांकले देखाउँछ। सन् २०१८ मा नेपालमा १ करोड १६ लाख बाख्रा थिए त्यो बढेर अहिले १ करोड ३९ लाख भन्दा बढी पुगेका छन्।

मासु भने प्रति बाख्रा १७.५ केजीबाट घटेर १६.९ केजी पुगेको छ।

यो अवस्था आउनुमा बाख्रामा लाग्ने रोग, परजीवीको संक्रमण, त्यसको निदानमा दक्ष जनशक्तिको कमी, कमजोर नश्ल, अवैज्ञानिक प्रजनन् प्रणाली, आहाराको सही व्यवस्थापन नहुनुजस्ता कारण रहेको बाख्रा विज्ञ डा.निराजन भट्टराई बताउँछन्।

यी समस्यामध्ये परजीवीको संक्रमणको विषयमा पशु स्वास्थ्य प्राविधिकहरूमा समेत आवश्यक ज्ञानको कमी देखिएको उनले बताए।

‘बाख्राको संख्या बढिरहेको छ। तर उत्पादन लागत र उत्पादन हुने मासु घट्दो क्रममा छ। यसका धेरै कारणहरू छन्। तीमध्ये परजीवीको बेलैमा नियन्त्रण गर्न नसक्नु एक हो,’ भट्टराई भन्छन्, ‘यसका लागि पशु स्वास्थ्य प्राविधिकलाई आधुनिक प्राविधिक ज्ञान र सीप दिनु आवश्यक छ।’

भट्टराईका अनुसार बाख्रामा लाग्ने परजीवी आन्तरिक र बाह्य दुई प्रकारका हुन्छन्। नाम्ले जुका, गोलो जुका, फित्ते जुका, हेमोङ्कस आन्तरिक परजीवी हुन्। यिनले शरीरभित्र रहेर बाख्रालाई हानी पुर्‍याउँछन्। हेमोङ्कस नामको परजीवीले रगत चुसेर रक्तअल्पता पैदा गर्छ। त्यसले बाख्रामा अन्य रोगसँग लड्ने क्षमता कम हुन्छ।

The web
The web

‘बाख्राको वृद्धिदर कम हुने, तौल बढ्न नदिने समस्या हुन्छ,’ भट्टराईले भने।

बाह्य परजीवी जुम्रा, उडुस, उपिया, झिँगा, किर्ना, सुलसुले, नाकमा पस्ने जुकालगायत हुन्। यिनको संक्रमणको पनि बाख्रामा ठूलो असर हुने भट्टराई बताउँछन्।

‘१८ महिने, तीन महिने तालिम लिएका पशु सेवा प्राविधिकहरूले बाख्राको रोगको उपचार गर्नुहुन्छ। तर उहाँहरूसँग आधुनिक प्राविधिक ज्ञान छैन। रोगको पहिचान र निदान गर्न समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘हामीले गरेको एक अध्ययनले भरतपुर महानगरपालिकाभित्रका करिब ८० प्रतिशत पशु सेवा प्राविधिकहरूलाई परजीवीको संक्रमण जाँच गर्ने आधुनिक प्रविधिबारे ज्ञान छैन।’

317a16ea-fa4d-481c-a445-7cd06a88d926-1695968389.jpeg

बाख्राको आँखाको रंग हेरेर उसमा परजीवीको संक्रमण कस्तो छ भन्ने थाहा पाउन सकिन्छ। अमेरिकामा धेरै वर्षदेखि प्रयोग गर्ने गरिएको संक्रमणको अवस्था पत्ता लगाउने सहयोग गर्ने ‘फामाचा कार्ड’ बारे प्राविधिकहरूलाई सिकाउन थालिएको भट्टराईले बताए।

‘यो कार्ड हेरेर पशु स्वास्थ्य प्राविधिकहरूले बाख्रामा रक्तअल्पताको समस्या कुन स्तरको छ भन्ने कुरा पत्ता लगाउन सक्छन्। रक्तअल्पताले समस्याग्रस्त भइसकेपछि बल्ल औषधि दिने चलन छ। यसले मृत्युदर बढिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म त कति किलोको छ सोधेर त्यसको आधारमा सोलोडोलोमा औषधि दिने गरिन्थ्यो। उपचार ढिलो हुँदा बाख्रा मर्ने खतरा बढी थियो।’

उनले समयमै रोगको पहिचान नहुँदा सामान्य रोगले पनि पशु चौपायको मृत्यु हुने समस्या रहेको बताए।

भट्टराईका अनुसार फामचा कार्डको प्रयोग नेपालमा केही व्यावसायिक फार्म र अनुसन्धान केन्द्रमा भए पनि सामान्य किसानले पालेका बाख्रामा हुन सकेको छैन। नेपालमा बाख्राको मृत्यु दर ५ वर्षअघि ४ प्रतिशतमात्रै थियो। अहिले बढेर १०–११ पुगेको छ।

बाह्य परजीवीको नियन्त्रण सरसफाइ, सुरक्षित गोठ, खोरले गर्न सकिने तर आन्तरिक परजीवीको संक्रमण बढी खतरापूर्ण हुने भएकाले पशु स्वास्थ्य प्राविधिकलाई दक्ष बनाउनुपर्ने आवश्यकता रहेको भट्टराई बताउँछन्।

यिनै विषयलाई ध्यानमा राखेर कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रले अहिले भरतपुर महानगर क्षेत्रमा पशु स्वास्थ्य सेवा प्रदान गरिरहेका प्राविधिकहरूलाई यु.एस.ए.आइ.डी. कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा भेडाबाख्रामा परजीवी नियन्त्रण प्रविधि तालिम दिएको छ।

प्राविधिकहरूलाई साना उग्राउने पशु (भेडा, बाख्रा, खसी, बोका, च्याङ्ग्रा) हरूमा लाग्ने परजीवी, तिनको प्रकोप र रोकथामसम्बन्धी आधुनिक प्राविधिक ज्ञान र सीपको विकास गर्न लागिएको निरन्तर शिक्षा केन्द्रका निर्देशकसमेत रहेका डा.निराजन भट्टराईले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले पशुमा लाग्ने रोगले बाली बिरूवा र मानव स्वास्थ्यमा समेत असर पुर्‍याउने बताइन्।

‘पशुपंक्षीको स्वास्थ्य व्यवस्थापनका लागि प्राविधिकहरूको क्षमता विकास गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिकहरूलाई दिने तालिमले यसमा महत्वपूर्ण योगदान दिन्छ।’

यु.एस.ए.आइ.डी. कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा.केशवप्रसाद प्रेमीले नेपालमा भेडाबाख्रामा लाग्ने आन्तरिक तथा बाह्य परजीवीको कारण मासु उत्पादन र उत्पादकत्व घट्ने र उत्पादन लागत बढ्ने अवस्थाले उत्पादक कृषकहरू आर्थिक मारमा परिरहेको बताए।

‘विशेष किसिमको प्राविधिक क्षमता विकास तालिमले आगामी दिनमा भेडा बाख्राको उत्पादकत्व बढाउन र उत्पादन लागत घटाई कृषकहरूको आयआर्जनमा वृद्धि गर्न विशेष योगदान दिने छ,’ डा. प्रेमीले भने।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायअन्तर्गत भेटेरीनरी सूक्ष्म जीव तथा परजीवी विज्ञान विभागका उपप्राध्यापक डा. चेतराज पाठकले भेडाबाख्रामा लाग्ने मुख्य आन्तरिक तथा बाह्य परजीवीहरूको जीवनचक्र, निदान, उपचार तथा रोकथाम, माइक्रोस्कोपको प्रयोग गरी परजीवीको अण्डा पहिचान तथा गणना, परजीवीको प्रकोप नियन्त्रणमा फामाचा प्रविधिको प्रयोग, फामाचा विधिबाटै परजीवी प्रतिरोधक भेडा बाख्राको पहिचान र छनोट, परजीवी नियन्त्रक औषधीको प्रकार, मात्रा निर्धारण र सोको प्रयोग विधी लगायत विषयवस्तुहरूमा सैद्धान्तिक प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास गराइने बताए।

नेपालमा चार जातिका रैथाने बाख्राहरू छन्। हिमाली क्षेत्रमा च्याङ्ग्रा, उच्च पहाडी क्षेत्रमा सिन्हाल, मध्यपहाडी क्षेत्रमा खरी र तराईमा तराई बाख्रा पाइन्छन्। मध्यपहाड र तराईमा पालिने बाख्राको संख्या बढी छ। १ प्रतिशत च्यांग्रा, १७ प्रतिशत सिन्हाल, ५१ प्रतिशत खरी र बाँकी तराई बाख्रा रहेको भट्टराईले बताए। बोयर, जमुनापारी, बारबारी, सिरोही जातका विकासी बाख्रा पनि नेपालमा छन्। विभिन्न देशबाट ल्याइएका यी जातका बोकालाई रैथानी बाख्रासँग क्रस गरेर हाइब्रिड बाख्रा पनि उत्पादन भइरहेको छ।