काभ्रेको नालामा एक जना पुरूषको शव फेला परेको छ।
आइतबार बिहान ७:५० बजे भक्तपुर-काभ्रे सिमाना पर्ने बनेपा नगरपालिका-१ नालाको प्लटिङ गरेको जग्गाको छेउमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शव अन्दाजी ५०-५५ वर्षीय पुरूषको हो। उनको सनाखत भइसकेको छैन।
घटना शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको टोली खटिएको छ।
अहिले प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको डिएसपी श्रेष्ठले बताए।
घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।