Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कोशी अधिवेशनमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा

नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा यसपटक मोरङका दुई नेता विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्ष पदमा आमनेसामने भएका छन्।

यसअघि मोरङ अध्यक्ष पदमा एकपटक प्रतिस्पर्धा गरिसकेका केन्द्रीय कमिटी सदस्य ढकाल र कोशी प्रदेश कमिटीका सदस्य खतिवडाले डेढ दशकपछि प्रदेशका प्रतिस्पर्धी बनेका छन्।

शुक्रबार विराटनगरमा सुरू भएको पहिलो प्रदेश अधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्न नेताहरूले गरेको प्रस्ताव अध्यक्षका दुवै आकांक्षीले अस्वीकार गरेपछि अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

ढकालको प्रस्तावकमा मोरङका मुकेश बुढाथोकी र समर्थकमा मोरङकै महेश भट्टराई छन्। खतिवडाको प्रस्तावकमा खोटाङका रामप्रसाद दंगाल र समर्थकमा ताप्लेजुङका छत्रपति प्याकुरेल छन्।

२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका यी दुईमध्ये त्यसबेला ढकालले सफलता पाएका थिए। त्यसबेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए।

जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामाने भएका दुई नेताबीचको प्रतिस्पर्धामा प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरू पनि दुई तिर विभक्त देखिएका छन्। एमालेको आठौं महाधिवेशनदेखि खतिवडा पनि ओली समूहमै पुगेपछि यी दुई नेता एकै गुटमा थिए।

तर, पछिल्लो समय ढकाल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट पुगेको चर्चा एमाले वृत्तमा छ।

प्रदेशको अध्यक्ष बन्ने दौडमा रहेका दुवै नेताले आफू नै अध्यक्ष ओली निकट उम्मेदवार भएको प्रचार गरिरहेका छन्। 

The web
The web

यद्यपि चुनावी मैदानमा ओली निकट बहुसंख्यक नेताहरूको समर्थन भने खतिवडालाई देखिएको छ। विद्या भण्डारी निकट मानिने शेरधन राईदेखि गुरू बरालसम्म, ओली निकट मानिने मुख्यमन्त्री हिक्मत कार्कीदेखि अग्नि खरेलसम्म नेताहरू खतिवडाको पक्षमा उभिएका छन्।

भीम आचार्य, रविन कोइराला लगायतका नेताहरू भने ढकालको पक्षमा उभिएका छन्।

मोरङ एमालेको दुई कार्यकाल अध्यक्ष भइसकेका ढकाल र मोरङ-१ बाट संघीय संसदका सदस्य भइसकेका पुराना नेता खतिवडाबीचको प्रतिस्पर्धाले जिल्लाको पुरानो प्रतिस्पर्धा सम्झाएको अधिवेशनस्थलमा रहेका एमाले कार्यकर्ता बताउँछन्।

एमाले कोशी निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ। शुक्रबार सुरू भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन्।