प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र छिमेकी मुलुक चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय सम्झौताबारे जानकारी गराएका छन्।
शनिबार काठमाडौं ओर्लिएलगत्तै त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी चीन भ्रमण र त्यसका उपलब्धीहरू र संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थितिबारे जानकारी गराएका हुन्।
उनले चीनका राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङ र चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजी लगायत विभिन्न प्रान्तमा भएका द्विपक्षीय भेटवार्ताको उपलब्धीबारे जानकारी गराए।
चिनियाँ राष्ट्रपति सी चीनफिङसँग हाङझाउमा भएको भेटवार्तामा चीनले गरिबी निवारण र आर्थिक समृद्धीको क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रीत रहनुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताए। आफ्नो धारणामा राष्ट्रपति सीले पनि समर्थन जनाएको उनले बताए।
त्यस्तै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाइ उडान गर्ने र दुई देशको उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।
नेपाल चीन लगानी सम्मेलनमा नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएपछि उनीहरू सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।
‘प्रधानमन्त्री ली छ्याङ्सँगको द्वीपक्षीय वार्तामा नेपालको उत्तरी सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नती, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरूद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालका तर्फबाट पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रीत भयो,’ प्रधानमन्त्री प्रचण्डले भने।
चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ शहरहरूबाट हवाइ सेवा विस्तार गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरू गर्ने, स्याफ्रुबेसी-रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा-सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुबै पक्ष सहमत भएको बताए।
त्यस्तै दुबै पक्षले टोखा-छहरे सुरूङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउने कुरामा सहमति जनाउँदै काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।
‘मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलाङचुङगोला नाका पनि चाडैँ सञ्चालनमा ल्याउने कुराकानी भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने।
पूर्णपाठः