Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

नमैलियोस् 'सेतो कोट'!

सानो छँदा हामीलाई अग्रजहरूले सोध्थे — ठूलो भएर के बन्ने?

हामी आफ्नो महत्त्वाकांक्षी सपना सुनाउँथ्यौ — डाक्टर बन्ने!

आज मेरो छोराले पनि यो प्रश्नको लगभग उस्तै शैलीमा उस्तै जवाफ दिन्छ। यो सुन्दा समय कति छिटो बित्यो जस्तो लाग्छ। अनि केही कुरा दुनियाँमा कति स्थिर रहेछ जस्तो पनि लाग्छ।

छोराको जवाफ कानले सुन्दै गर्दा मेरा आँखाहरू समाचारमा थिए — मणिपाल अस्पतालमा, हेटौंडामा, लमजुङमा डाक्टर कुटिएका घटनाहरूका।

डाक्टरजस्तो 'ड्रिम प्रोफेसन' आफ्नै कार्यक्षेत्रमा गाली र बेइज्जती पाउने मात्र नभई, आफ्नो ज्यान जोगाउन मुस्किल हुने गरी भौतिक आक्रमणमा समेत पर्न थाल्यो।

सुकिला लुगा, राम्रो कमाइ, इज्जतदार जिन्दगी — सबैले दुःख गरेर पुग्न खोज्ने गन्तव्य यस्तै हो। कक्षाका औसतभन्दा माथिका विद्यार्थीहरू, अझ पहिलो र दोश्रो हुनेको झन्डै अनिवार्यजस्तै बनेको हुन्छ डाक्टरी सपना। सायद हाम्रो देशका डाक्टरहरूलाई यो सपना महँगो पर्न थाल्यो!

डाक्टर मात्र नभई, अन्य स्वास्थ्यकर्मीहरू पनि आक्रमणको निशानामा पर्ने घटना विगत वर्षहरुदेखि झनै बढ्दै गइरहेको छ। स्वास्थ्यजस्तो अत्यावश्यकीय क्षेत्रमा सेवाग्राही र प्रदायका बीचमा यस्तो अवस्था आउनु गम्भीर कुरा हो।

अस्तव्यस्त प्रणाली

The web
The web

सबै क्षेत्र जस्तै स्वास्थ्य क्षेत्रमा पनि भरपूर व्यवस्थापकीय कमजोरीहरू छन्। बढ्दो जनशक्ति उत्पादन र सीमित स्वास्थ्य संस्थाले सबैलाई रोजगार दिन सकेका छैनन्। देशमा जति बेरोजगार स्वास्थ्यकर्मी छन्, त्यति नै थोरै संख्याका स्वास्थ्यकर्मीले ठूलो संख्याका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ।

यसको स्पष्ट समाधान भनेको दरबन्दी बृद्धि गर्ने हो। बिडम्बना के छ भने, पर्याप्त संख्यामा स्वास्थ्यकर्मीको संख्या राख्नेमा कसैको चासो हुँदैन। सेवा चाहिँ सबैलाई राम्रो चाहिन्छ।

कुनै पनि सेवाको गुणस्तर राम्रो हुन भौतिक साधन अर्थात् ठूला भवन, महँगा उपकरण मात्र भएर हुँदैन। सेवा दिनेको दक्षता, उपलब्धता सबै कुरा हुनुपर्छ।

केही समयअघि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको घटनाको घाउ फेरि यो कुराले मनमा बल्झियो। नर्स बिरामीको अनुपात १.१५ भएको ठाउँमा १.१ को सेवा हामीलाई चाहिन्छ। कुराको सत्यतथ्य बुझ्दै नबुझी सामाजिक सञ्जालमा जसरी हेर्न नसक्ने गरी अपशब्दको बर्षा भयो, त्यो सबै नर्सहरूको निम्ति अत्याशलाग्दो थियो।

सानो संख्यामा रहेका ठूला डाक्टरबाहेक नेपालका धेरैजसो स्वास्थ्यकर्मी न्यून पारिश्रमिकमा काम गरिरहेकामा शंका छैन। कोभिड महामारीका बेला आफ्नो ज्यान, परिवार नभनी दिनरात सेवामा खटिएर कोही आफैं मृत्युको मुखमा पुगे, धेरै संक्रमित भए। तर कोही बिदामा बस्ने गैरजिम्मेवार बनेनन्। अमेरिका लगायत विकसित देशमा ठूलो संख्यामा सेवानिवृत भएर बसे। तर हाम्रो देशमा भएकैमा अलिकति थपेर त्यत्रो लडाइँ लडे।

भूकम्प, नाकाबन्दी, लकडाउन जस्ता परिस्थिति कतिका निम्ति कालोबजारी गर्ने, छोटो बाटोबाट धनी हुने सुर्वण मौका बन्छ। तर स्वास्थ्यकर्मीहरूको भागमा अतिरिक्त खटाइ, धेरै संख्यामा आफैं संक्रमित र केहीको मृत्युको तथ्यांकभन्दा बढी केही उपलब्धि देखिँदैन। यति हुँदा पनि किन देश बिगार्ने त यिनै हुन् भनेझैं कुनै क्षेत्रमा नभएको घटना यहीँ हुन्छ!

केही भ्रमहरू

डाक्टर भगवान होइनन्, पढेको ज्ञानलाई बिरामीको उपचारमा प्रयोग गर्ने हुन्। मेडिकल साइन्सका धेरै कुरा अनुत्तरित छन्। अवधारणाहरू पनि परिवर्तन भइरहेका हुन्छन्। सबै उपचार पद्धति, औषधिले सबै मानिसको शरीरमा उस्तै गरी काम गर्दैनन्। उस्तै समयमा पनि काम गर्दैनन्।

म भरतपुरमा नर्सका रूपमा काम गर्दा डाक्टरहरूले भनेको याद आँउछ — हाम्रो एन्टिबायोटिकले काठमाडौं पुगेर काम गर्दो रहेछ! अनि काठमाडौंको एन्टिबायोटिकले दिल्ली पुगेर काम गर्दो रहेछ!

अर्थात् ठूलो ठाउँमा पुगेर चाहिँ राम्रो हुन्छ भन्ने भ्रम भए पनि यर्थाथमा साना सहर, गाउँहरूमा पाएको उपचारले खासमा काम गरेको हुन्छ।

सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन, सरकारी औषधिले काम गर्दैन भन्ने जस्ता सोचाइ धेरै मानिसहरूमा छ। यस्तो सोच राख्नेहरू सरकारी अस्पतालमा सुत्केरी गराउन जाँदैनन्। गाउँका स्वास्थ्यचौकीको औषधि खाँदैनन्। उनीहरू सहरी क्षेत्र वा निजी अस्पताल र क्लिनिकमा उपचार गराउन पुग्छन्। उनीहरूको खर्च धेरै हुन्छ। यसले गर्दा निजी क्षेत्रको व्यापार बढ्छ र डाक्टरहरूलाई पनि पैसामुखी बनाउँछ।

तर फोहोर भयो भने घर सफा गर्ने हो, घरबाट भाग्ने होइन नि! सरकारी अस्पतालको स्तरोन्नति आफ्नै घरको सफाइ हो।

त्यस्तै सिकारू चिकित्सकले बिरामीलाई प्रयोग गरी स्वास्थ्यमा खेलवाड गर्छन् भन्ने शंका र डर पनि धेरैमा छ। यो सबै बेकारको भ्रम हो। संवेदनशील र मुख्य निर्णय सिकारूले लिँदैनन्, सिनियर वा प्रशिक्षकले नै सम्हाल्छन्।

कमजोर उपभोक्ता अधिकारको उपयोग

स्वास्थ्यकर्मी पनि आममानिस हुन्। त्रुटि सबै मानिसबाट हुन्छ। तर कसैको जीवनसँग काम गरिरहँदा त्रुटि गर्ने छुट हुँदैन। हामीकहाँ अहिलेसम्म सार्वजनिक भएका जति पनि घटना छन्, तिनको सत्यतथ्य जाँच गरेर गल्ती भएको प्रमाणित भए त्यहीअनुसार सजाय दिनुपर्छ। त्यसो भए मात्र प्रणाली प्रति बिरामीको विश्वास हुन्छ।

वास्तविकता नबुझी 'लापरबाही' भन्ने प्रचार हुँदा बिरामी र स्वास्थ्यकर्मीबीचको दुरी बढ्दै जान्छ। अहिले सामाजिक सञ्जालमा चर्चित हुने लोभमा एकसेएक जान्ने-बुझ्नेहरू पैदा भएका छन्। यी अनियन्त्रित दुश्प्रचारकले जति घृणाको आगो ओकल्छन्, त्यो डढेलोले सम्बन्ध र विश्वास ध्वस्त पार्छ। सेवा दिनेहरूमा नैराश्यता आउँछ। सेवा लिनेहरू सशंकित हुँदै जान्छन्। सेवा प्रभावकारी हुँदैन। नपत्याइ नपत्याइ खाएको औषधि लाग्दैन। सुईले अलि धेरै दुखाइदिएको अनुभव हुन्छ। एक्स-रेले राम्रोसँग नखिचेझैं लाग्छ। रगतको रिपोर्टमा केही आउँथ्यो होला, रिपोर्ट नै साटिदिए कि जस्तो लाग्छ!

अधिकार उपभोक्ता मात्र हुँदैन। सेवा दिनेहरू पनि यो देशका नागरिक हुन्। इज्जतसाथ सुरक्षित भएर काम गर्न पाउने उनीहरूको पनि अधिकार हो। उनीहरू आफ्नो योग्यता पुगेर, दक्षता प्रमाणित गरेर मात्र काम गर्न आएका हुन्छन्। तलब खाँदैमा गाली पनि खानुपर्छ भन्ने छैन।

भरतपुरको क्यान्सर अस्पतालको घटनामा सामाजिक सञ्जालमा अपशब्दको जुन ताण्डव देखियो, त्यो वास्तवमा मानव अधिकार हनन पनि थियो। र, महिला माथि हिंसा पनि थियो। अभिव्यक्ति स्वतन्त्रताको चरम दुरूपयोग थियो। 

आममानिसको पीडा

महँगी छ, बेरोजगारी छ, बाटोमा खाल्टो छ, धारामा पानी आउँदैन, छोराछोरीले भनेको मान्दैनन्, श्रीमान र श्रीमतीबीच कचकच भइरहन्छ, छिमेकीले दुःख दिन्छ, आफूले भोट हालेका नेताहरू जति बदमास नै निस्किए, फोहोर छ, प्रदूषण छ— ओहो समस्या कति हो कति! 

यस्तोमा कि पेट दुख्छ, कि टाउको भारी हुन्छ, केही न केही त हुन्छ हुन्छ। अनि सन्चो हुन अस्पताल पुग्यो, झन् रिस उठ्छ। टिकट काट्ने ठाउँमा लामो लाइन छ। बल्ल बल्ल डाक्टरको दर्शन पाइन्छ, मनको कुरा कति धेरै भनौंझैं भएको हुन्छ। तर न डाक्टरसँग सुन्ने समय छ, न नर्सले सुनेर बस्छन्, न फार्मेसीका मान्छेले सुस्तरी बताउँछन्। त्यसपछि धैर्यको बाँध फुट्छ। सबैको रिसको झोँकमा सेतो लुगा लगाउने पर्छ।

'जहाँ प्रणाली चल्दैन, त्यहाँ थप्पड चल्छ' भनेर हामीलाई फिल्महरूले पनि सिकाएका छन्। अनि त हाम्रो मनभित्र दन्किरहेको आक्रोशको प्रस्फुटन हामी दमकलमा आगो लगाएर गर्छौं।

म सोच्छु — कहाँ गयो हाम्रो विवेक? सबैले अजम्बरी बुटी खाएको झैं किन हो? हाम्रो समाज यति बैगुनी कसरी हुन सक्यो?

नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको छ। यहाँका काउन्सिलहरूमा पास गर्नेले अलिकति मेहनत गरेपछि विदेशी लाइसेन्स र त्यहाँको नियमअनुसारको पारिश्रमिक पाउन सक्षम बन्छन्। बर्सेनि लाखौं युवा बिदेसिइरहेका छन्। यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रका पनि बाहिर मात्रै गए भने? के फरक पर्ला र भन्ने लाग्छ भने त्यो ठूलो भूल हुनेछ।

यसरी गएकाहरूले यहाँ आर्जेको दक्षताले बाहिर गएर सेवा दिन्छन्। एकातिर दक्ष जनशक्ति पलायन हुन्छन्, अर्कातिर त्यो कमाइ खाडीको रेमिटेन्सझैं नेपाल भित्रिँदैन। त्यो जमात बाहिरै 'सेटल' हुने खुबी राख्छ।

उपचारमा ग्यारेन्टी माग्ने र केही हुनेबित्तिकै हुलदंगा हुने भने अब जटिल र गम्भीर बिरामीको उपचार जिम्मेवारी नलिने र रिफर धेरै गर्ने चलन बढ्न सक्छ। यसले अन्ततः बिरामीको नै खर्च बढाउन सक्छ।

गम्भीर बिरामीको उपचारमा चिकित्सकलाई अधिकतम प्रयास गर्ने वातावरण दिनुपर्छ। स्वास्थ्य सेवा प्रदायकले पनि पारदर्शिता र परामर्शको मात्रा बढाउन जरूरी छ। चिकित्सकले आफ्नो दक्षतामाथि प्रश्न उठाउने ठाउँ दिनु हुँदैन। आफ्नो सीप र ज्ञान अद्यावधिक गरिरहनुपर्छ। अनि छुट्टै 'फास्ट ट्रयाक कोर्ट' जस्तै संयन्त्र बनाउनुपर्छ, जसले यस्ता विवाद छिट्टै सुल्झाओस्। समग्रमा सबै आआफ्नो ठाउँमा परिमार्जित हुनै पर्छ।

चाडपर्व, रातदिन नभनी खट्ने, बिरामीका रगत र मलमूत्रमा डुब्ने चिकित्सकहरूका कारण हाम्रो औसत आयु बढेको छ। मातृ, शिशु, बाल मृत्युदर घटेको छ। हजारौं स्वास्थ्यकर्मीको मेहनत र त्यागले यो सुधार हुन सकेको हो। त्यसैले आफ्नो भाँचिएको हातखुट्टा जोडिदिनेकै हातखुट्टा भाँच्ने चेस्टा कसैले नगरोस्। यस्तो सोच पनि नआओस्!

किनभने एक दिन ओपिडी, आइसियू वा कुनै पनि स्वास्थ्य सेवा बन्द हुँदा हजारौं निर्दोष बिरामी मर्कामा पर्छन्।

मैले झन्डै डेढ दशक यो क्षेत्रमा बिताएँ। मेरो जिन्दगीको उर्वर समयले रित्तो खल्ती मात्र होइन, धेरै मीठा अनुभवहरू पनि दिएको छ। र, मलाई यसमा मलाई गर्व छ।

मजस्तै सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्नेहरू सबैले आफ्नो 'सेतो कोट' माथि गर्व गर्न सकून्! यो सेतो कोट कसैले मैलो नबनाऔं!