कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन्।
भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए।
भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोटमा खड्काले आज उद्घाटन गरेका हुन्।
‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेतका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइ लगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो’, उनले भने, ‘भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छाैं।’
खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन दिए। भेरी–बंबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सन्चालन गरिएको थियो। सुरूमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरू गरिएको भए पनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।


खड्काले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए।
‘सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ। आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ,’ उनले भने।