Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णाली अधिवेशनः जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतितिधि सहभागी हुने

नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन बुधबारदेखि सुरू हुँदै छ। अधिवेशनको सबै तयारी पूरा भइसकेको कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।

सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे गर्ने छन्।

अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रूपमा सहभागी हुने अध्यक्ष शाहले जानकारी दिए।

‘अधिवेशनको सबै तयारी पूरा भइसकेको छ, अधिवेशनलाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं,’ उनले भने।

कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने छन्। तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए। अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन्। यसभित्र समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।

पार्टी सदस्यको आधारमा छनोट गरिएका १० जिल्लाका ५५४ जना प्रतिनिधि रहेका छन्। जिल्लागत रूपमा सुर्खेतका एक सय १२, जाजरकोटका ७५, दैलेखका ७४, कालीकोटका ६५, हुम्लाका ४८, जुम्लाका ४८, डोल्पाका ३९, मुगुका ३३ र रूकुम पश्चिमका २३ जना प्रतिनिधि रहेका छन्।

असोज ११ गते अधिवेशनको बन्द सत्र हुनेछ। बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ।

अधिवेशनको उद्घाटन सत्रमा करिब ५ हजार जनाले अवलोकन गर्ने एमाले प्रदेश कमिटीले जनाएको छ। अवलोकनका लागि सिटी हलको बाहिरपट्टि पनि टेन्टको व्यवस्थापन गरिएको प्रदेश अध्यक्ष शाहले जानकारी दिए।