Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

ब्रिटिश काउन्सिल आइइएलटिएसले सुरू गर्‍यो 'वन स्किल रिटेक'

ब्रिटिश काउन्सिल आइइएलटिएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) सुरू गरेको छ।

यो सुविधा सुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन।

वन स्किल रिटेकमा आइइएलटिएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ। सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सीपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ।  

परीक्षाको ढाँचा र समय सामान्य आइइएलटिएस परीक्षामा व्यक्तिगत सीप जाँचे जस्तै हुनेछ। तर परीक्षार्थीहरूले अन्य तीन सीपको परीक्षा दिन भने आवश्यक हुने छैन। जसले गर्दा समयको बचत हुनेछ।

आइइएलटिएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर सुरू गरिएको ब्रिटिश काउन्सिलका आइइएलटिएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताए। 

'उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौं,' म्याकेन्जीले भने। 

'अंग्रेजीमा आफ्नो प्रदर्शन निपूर्ण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा सीपमा दोहोर्‍याएर परीक्षा दिने अवसर दिनेछ, यसले निस्पक्षता बढाउने हामीले आशा गरेका छौं,' उनले भने। 

आइइएलटिएस वन स्किल रिटेक ग्रहण गर्ने संगठनहरूले आवेदनको स्तरमा सम्झौता नगरिकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन्। 

'परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने यो पहलप्रति आइइएलटिएस पार्टनरहरूलाई पनि गर्व छ,' म्याकेन्जीले भने। 

आइइएलटिएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन्। यसलाई बसाइँसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ। 

पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहोर्‍याएर दिएको सीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन्। आइइएलटीएस वन स्किल रिटेकका लागि सुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ।